शान्ति प्रक्रियामा आएपछि माओवादी कहाँ चुक्यो भन्ने विषयमा आत्मसमीक्षा गछौं : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले शान्ति प्रक्रियामा आएपछि माओवादी कहाँ चुक्यो भन्ने विषयमा विस्तृत आत्मसमीक्षा गर्ने बताएका छन् ।

पार्टीको आठौँ महाधिवेशनको उद्घाटन सत्रलाई आज आइतवार प्रज्ञा भवनमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।

आफ्नो राजनीतिक प्रतिवेदनमा सबैभन्दा धेरै आफ्नोबारेमा नै धेरै समीक्षा गर्ने भन्दै प्रचण्डले आफैँलाई चिरफार गर्ने, माओवादीलाई फेरि उठाउने र समाजवादी अभियानलाई अघि बढाएर नागरिक र देशको  हितका लागि अघि बढ्ने उल्लेख गरे ।

तत्कालीन एमाले र माओवादीको एकता गर्नु कुनै गल्ती नभएको र नेकपा किन विघटन भयो भन्नेबारेमा गम्भीर समीक्षा गर्नुपर्ने उनको भनाई छ ।

प्रचण्डले माओवादीको महाधिवेशन कुनै एउटा दलको मात्रै चासोको विषय नभइ समग्र देशकै चासोको विषय भएको बताए ।