एमाले कर्णाली प्रदेश अधिवेशनका लागि ४ सय बढी प्रतिनिधि छनोट गरिँदै

सुर्खेत ।  नेकपा एमाले कर्णाली प्रदेश कमिटीले प्रदेश अधिवेशनको तयारी थालेको छ ।

आइतबार सम्पन्न प्रदेश कमिटीको बैठकले माघ ८ गते हुने प्रदेश अधिवेशनका लागि प्रदेश निर्वाचन क्षेत्रलाई भौगोलिक आधार बनाएर प्रदेश अधिवेशन प्रतिनिधि छनोट गर्ने निर्णय गरेको छ ।

प्रदेश कमिटीले सोमबार पत्रकार सम्मेलन गरेर बैठकले अधिवेशन प्रतिनिधि छनोटका लागि पुस २९ गते मिति तय गरेको जानकारी दिएको हो ।
प्रदेशका अध्यक्ष विनोद कुमार शाहले एक तिहाई महिलाको अनिवार्य प्रतिनिधित्व हुने गरी एक सय ५० सदस्यीय बराबर एक जना प्रतिनिधि छनोट गर्ने निर्णय गरेको जानकारी दिए ।

कर्णाली प्रदेशमा ६२ हजार एक सय ४२ सांगठनिक सदस्य रहेका छन् । प्रदेश अधिवेशनका लागि करिब चार सय १५ प्रतिनिधि छनोट हुने जनाइएको छ । दलित प्रतिनिधिको हकमा एक सय सदस्य संख्या बराबर एक जना प्रतिनिधि छनोट गर्ने र  एक सय सदस्य संख्या बराबर एक तिहाई महिला छनोट गर्नुपर्ने निर्णय गरिएको हो ।

यस्तै बैठकले अधिवेशन सम्पन्न गर्न प्रदेश अध्यक्ष बिनोद कुमार शाहको संयोजकत्वमा मुल व्यवस्थापन समिति गठन  गरेको छ ।  बैठकले प्रदेश अध्यक्ष शाहको संयोजकत्वमा प्रदेश अधिवेशनमा प्रस्तुत गरिने राजनीतिक तथा सांगठनिक प्रतिवेदन मस्यौदा कमिटी पनि गठन गरेको छ ।

यस्तै बैठकले  पुस २३ गते जिल्ला अधिवेशन गर्ने पनि निर्णय गरेको छ । जिल्ला अधिवेशन लोकतान्त्रिक प्रकृया  अभ्यासलाई सकेसम्म आत्मसात गर्दै सर्वसम्मत नेतृत्व चयन गर्न बैठकले आग्रह गरेको छ ।  बैठकले प्रदेश कमिटी सदस्यमा कलम शाहीलाई मनोनित गरेको छ । बैठकले एमाले कर्णाली प्रदेशसभा संसदीय दलको विधान २०७७ लाई अनुमोदन गरेको छ ।