बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी सरकारी जग्गा हडपेको आरोपमा ३ जना पक्राउ


सुर्खेत । काठमाण्डौको बाँसबारी छाला जुत्ता कारखानाको सरकारी जग्गा हडपेको आरोपमा तीन जना पक्राउ परेका छन् ।

व्यापारी अरुण चौधरी, कारखानाका तत्कालीन कार्यकारी प्रमुख अजितनारायण सिंह थापा र आम्रपाली कन्ट्रक्शनका सञ्जय ठाकुर पक्राउ परेका हुन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनीहरूलाई आज दिउँसो काठमाण्डौबाट पक्राउ गरेको हो ।

चौधरी अर्बपति व्यापारी तथा नेपाली कांग्रेसका सांसद विनोद चौधरीका भाइ हुन् । चौधरी र थापाले २०४२ सालदेखि सरकारी जग्गालाई आफ्नो नाममा बनाउन थालेको र अहिलेसम्म १० रोपनी जग्गा हडपेको आरोप छ ।

१५ महिनाअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान शुरू गरेको थियो । तर अख्तियारको अनुसन्धान अघि नबढेपछि सीआईबीले पनि यो विषयमा अनुसन्धान अघि बढाएको थियो । यो जग्गाको भाउ अहिले एक अर्ब रुपैयाँभन्दा धेरै हुन सक्ने प्रहरी स्रोतले जनाएको छ । अहिलेसम्मको अध्ययनअनुसार गैरकानुनी तरिकाले उनीहरूले सरकारी जग्गा हडपेको प्रष्टै देखिएको सीआईबीले जनाएको छ ।