नेपाल फिलिपिन्ससँग १–० गोलले पराजित

सुर्खेत । फिलिपिन्सँगको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपाल पराजित भएको छ । आज बिहीवार फिलिपिन्सको रिजल मेमोरियल मैदानमा भएको खेलमा नेपाल घरेलु टोलीसँग १–० गोलले पराजित भएको छ ।

भारतमा हुने १४ औँ संस्करणको साफ च्याम्पियनशिपको तयारीका लागि नेपालले फिलिपिन्ससँग खेलेको हो । फिफा वरीयतामा नेपाल फिलिपिन्सभन्दा निकै पछि छ । नेपाल १ सय ७४ औँ स्थानमा छ भने फिलिपिन्स १ सय ३६ औँ स्थानमा छ ।

साफ च्याम्पियनसिप भारतको बेङ्गलुरुमा असार ६ देखि १८ गतेसम्म हुनेछ । च्याम्पियनसिपमा नेपालसहित आयोजक भारत, बङ्लादेश, कुवेत, लेबनान, भुटान, पाकिस्तान र माल्दिभ्स सहभागी हुँदैछन् । कुवेत र लेबनानले आमन्त्रित टोलीको रूपमा साफ खेल्न लागेका हुन् । असार ६ गते हुने नेपाल र कुवेतबीचको उद्घाटन खेल नेपाली समय अनुसार पौने ४ बजे सुरु हुनेछ ।