कञ्चनपुरमा डिउटीमा खटिएका सशस्त्रका सइमाथि खुकुरी प्रहार


सुर्खेत । कञ्चनपुरमा डिउटीमा खटिएका सशस्त्र प्रहरीका एकजना सइमाथि खुकुरी प्रहार भएको छ । कञ्चनपुर जिल्लाको दोधारा चाँदनी नगरपालिका–७ कञ्चन भोजमा रहेको बोर्डर आउट पोष्ट (बीओपी)का प्रमुख सशस्त्र प्रहरी नायब निरीक्षक (सई) नरेन्द्र चैंसिरमाथि शुक्रबार राति स्थानीय युवाहरुको समूहले खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश डाँगीले राति करिब साढे १० बजेको समयमा चैसिरमाथि खुकुरी प्रहार भएको बताए ।

उनकाअनुसार स्थानीय युवाको समूहले होहल्ला गरिरहेका बेला सम्झाउन खोज्दा चैसिरमाथि खुकुरी प्रहार भएको थियो । उनको बायाँ पाखुरामा चोट लागेको छ ।

खुकुरी प्रहार गर्ने युवाहरु फरार रहेको र उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण कञ्चनपुरका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक ९एसपी० प्रेम रावलले कञ्जभोजस्थित जोगबुढा नदीको झोलुंगे पुलमाथि बसेर होहल्ला गरिरहेको अवस्थामा सम्झाइबुझाइ गर्दा खुकुरी प्रहार भएको बताए ।

चैसिर गस्तीमा खटिएको समयमा १०र१५ जनाको समूहले खुकुरी प्रहार गरेको बताउँदै एसपी रावलले उनीहरुको खोजी भइरहेको बताए ।