२४ घण्टामा कोरोना सङ्क्रमणबाट १ जनाको मृत्यु


सुर्खेत । पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणबाट एक जनाको मृत्यु भएको छ । सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाराका लागि भर्ना गरिएका कोरोना भाइरस र डेंङ्गुबाट सङ्क्रमित एक जना युवकको उपचारका क्रममा मृत्यु भएको हो ।

उपचारका क्रममा बैतडीका ३० वर्षीय युवकको मृत्यु भएको अस्पतालले जानकारी दिएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेहरुको सङ्ख्या १२ हजार ३१ जना पुगेको छ ।

यसैबीच पछिल्लो २४ घण्टामा ४३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टीजेन गरी एक हजार तीन सय एक जनाको नमुना परीक्षण गर्दा ४३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यही अवधिमा ५० जना कोरोना सङ्क्रमित निको भएका छन् । नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या दुई सय दुई रहेको छ ।