सुर्खेत । गुराँस गाउँपालिका वडा नं २ डुडापोखराकी राजु नेपालीले गाग्रीमा पानी बोक्न थालेको वर्षौ भयो । गाउँमा कतै नजिकै धारा नभएपछि करिब १ घण्टाको बाटो हिँडेर नेपालीले पानी बोक्थिन् । पानी बोक्न जाँदा घरको अरु सबैकाम बिग्रन्थ्यो । घरमा सबैभन्दा बढी चाहिने पानी नै नभएपछि उनलाई दिक्क लाग्थ्यो । तर दिक्क लागेर पनि के गर्नु पानी नबोकी सुख्खै थिएन ।
गुराँस गाउँपालिकाले आर्थिक वर्ष २०७९/ ०८० का लागि ल्याएको नीति तथा कार्यक्रमले “घर-घरमा धारा गुराँसको अभिभारा” भन्ने अभियान अन्तर्रगत खानेपानीको योजना सुरु गरेपछि राजु खुशीले दंग परेकी छन् । भन्छिन् ‘बल्ल सरकार भएको महशुष भएको छ । अब छिट्टै घर-घरमा धारा जोडिदैछन् ।’
उनी मात्रै होइन सोही ठाउँका तिर्थबहादुर वि.क समेत घर-घरमा धारा जडान हुनेभएपछि मख्ख छन् । गुराँस गाउँपालिका र हेल्भेटास नेपालको साझेदारीमा गुराँस गाउँपालिका वडा नं २ को डुडापोखरामा डुडापोखरा लिफ्टिङ, योजना र लम्चुडि छहरा खानेपानी योजनाको ७५ प्रतिशत काम सम्पन्न भइसकेको छ । अब घर-घरमा धारा जोडिने भएपछि तिर्थबहादुरको खुशीको सिमा छैन । उनले भने ‘अब बल्ल हाम्रा सुखका दिन आउने भए । धन्यबाद छ गुराँस गाँपालिकालाई ।’
गुराँस गाउँपालिकाले घोषणा गरेको एक घर एक धारा कार्यक्रमलाई पुर्णता दिनका लागि हेल्भेटास नेपालसंगको साझेदारीमा सञ्चालित खानेपानी योजनाको काम करिब ७५ प्रतिशत सम्पन्न भएको गाउँपालिकाका अध्यक्ष टोपबहादुर वि.सीले जानकारी दिए ।
आज गाउँपालिकाका अध्यक्ष टोपबहादुर वि.सी, उपाअध्यक्ष शिवाकुमारी खड्का र वडा अध्यक्ष शेरबहादुर रावलले खानेपानी योजनाको अनुगमन समेत गरेका हुन् । अनुगमनका क्रममा कामले तिव्रता पाएको उपाअध्यक्ष शिवाकुमारी खड्काले बताईन् । वडाका करिब एकसय भन्दा बढी नागरिकहरु उक्त खानेपानी योजनाबाट लाभान्वित हुने बताइएको छ ।
फरकबाटो १८ माघ २०७९, बुधबार २१:१३