
सुर्खेत । संसदीय समितिले आगामी शैक्षिक सत्रमा समयमै सबै विद्यालयहरुले पाठ्यपुस्तक पाउनेगरी व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ ।
संघीय संसद राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको सोमबार सिंहदरबारमा बसेको बैठकले आगामी शैक्षिक सत्रका लागि पाठ्यपुस्तक उपलब्ध हुने कुराको सुनिश्चित गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई निर्देशन दिएको हो ।
सम्बन्धित मन्त्रालय र मातहतका निकायहरुसँग गहन छलफल गरी समयमा विद्यालयहरुले पाठ्यपुस्तक पाउने कुराको सुनिश्चित गर्न सरकारलाई निर्देश गरिएको समितिका सभापति प्रकाश पन्थले जानकारी दिए ।
उनले भने, ‘सम्बन्धित निकायसँग गहन छलफल गरियो । र, आगामी शैक्षिक सत्रमा सबै विद्यार्थीहरुले समयमै पाठ्यपुस्तक पाउने कुराको सुनिश्चित गर्नका लागि हामीले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री माननीय शिशिर खनालज्यू, मन्त्रालय र सम्वद्ध निकायलाई निर्देशन जारी गरेका छौं ।’
यता, जनक शिक्षा सामग्री केन्द्रका प्रबन्ध निर्देशक अनिलकुमार झाले समयमै पाठ्यपुस्तक विद्यालयहरुलाई उपलब्ध गराउने गरी आफूहरुले काम गरिरहेको बताए ।
उनले त्यसका लागि कागजको समेत अभाव नहुने गरी व्यवस्थापन भइरहेको समितिलाई जानकारी दिए । जनक शिक्षा सामग्री केन्द्रले पाठ्यपुस्तक छपाईका लागि थप मेसिनहरुको पनि व्यवस्था गरिएको जनाएको छ ।

फरकबाटो ९ माघ २०७९, सोमबार १७:५९