पोखराका आन्तरिक उडान पनि अन्तर्राष्ट्रिय विमानस्थलबाटै, राति र कम भिजिबिलिटीमा पनि उडान


सुर्खेत । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा जडान गरिएको उच्चस्तरीय प्रविधिका कारण आन्तरिकतर्फका उडानलाई पनि सहज हुने भएको छ ।

जनवरी १ आगामी आइतवारदेखि पोखरामा हुने सबै आन्तरिक उडानसमेत नवनिर्मित अन्तर्राष्ट्रिय विमानस्थलबाट हुनेछन् । विमानस्थलमा जडान गरिएको आईएफआर प्रविधिका कारण कम भिजिबिलिटीमा पनि उडान भर्न सकिने विमान कम्पनीहरूले बताएका छन् ।

नयाँ विमानस्थलको अरू भौतिक पूर्वाधार पनि गुणस्तरीय छ । विमानस्थलमा यात्रुलाई टर्मिनल भवनबाट जहाजसम्म ल्याउन र पुर्‍याउन र्‍याम्प बस राखिएको छ । अब पोखरा विमानस्थलबाट रात्रिकालीन उडान पनि हुने छ ।

बुद्ध, यति, सौर्यलगायतका आन्तरिक विमान कम्पनीले आउँदो आइतवारदेखि सबै उडान अन्तर्राष्ट्रिय विमानस्थलबाटै हुने भएकाले उडान समयभन्दा दुई घण्टाअघि नै विमानस्थलमा पुग्न र अरू सूचनाको बारेमा जानकारी लिन आग्रह गरेका छन् ।