वैदेशिक रोजगारीमा रहेका श्रमिक पनि अब सामाजिक सुरक्षा कोषमा समेटिने

श्रम स्वीकृति लिँदा सामाजिक सुरक्षा नम्बर अनिवार्य

सुर्खेत । आगामी वैशाख महिनादेखि वैदेशिक रोजगारीमा जाने र वैदेशिक रोजगारीमा रहेका श्रमिकहरू सामाजिक सुरक्षा कोषमा अनिवार्य रूपमा समेटिने भएका छन् ।

वैदेशिक रोजगारीमा रहेका श्रमिक र विदेशमै स्वरोजगार रहेका व्यक्तिको लागि योगदानमा आधारित सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि २०७९ ले मन्त्रीस्तरीय स्वीकृति पाएसँगै २०८० सालको वैशाख १ गतेदेखि वैदेशिक रोजगारीमा रहेका श्रमिक पनि कोषमा अनिवार्य रूपमा समेटिने सामाजिक सुरक्षा कोषले जनाएको छ ।

यो कार्यविधि २०८० वैशाख १ गतेदेखि कार्यान्वयनमा आउने छ । कार्यविधि कार्यान्वयनमा आएसँगै वैशाख १ गतेदेखि नै नयाँ र पुनः स्वीकृति लिँदा सामाजिक सुरक्षा कोषमा सूचीकरण भएको नम्बर अनिवार्य रूपमा आवश्यक पर्छ। वैदेशिक रोजगारीमा रहेका र विदेशमै स्वरोजगार भएका व्यक्तिहरू कोषको अनलाइन प्रणालीमार्फत सूचीकरण हुन सक्नेछन् ।

वैदेशिक रोजगारीमा रहेका श्रमिक र विदेशमै स्वरोजगार व्यक्तिहरूले कोषमा आबद्ध भएपछि तीन किसिमका सुविधाहरू पाउनेछन् ।

दुर्घटना र अशक्तता, आश्रित परिवार र अवकाश तथा वृद्धावस्था सुरक्षा योजना अन्तर्गतको सुविधा पाउने व्यवस्था कार्यविधिले गरेको छ । जसका लागि श्रमिकले कोषमा मासिक न्यूनतम २ हजार रुपैयाँ योगदान रकम जम्मा गर्न पर्ने छ । योगदान रकम मासिक रूपमा वा वार्षिक रूपमा एकमुष्ट पनि जम्मा गर्न सकिने ।

दुर्घटना उपचार खर्च वार्षिक १ लाख रुपैयाँसम्म, अशक्तता पेन्सनमा नेपाल सरकारले तोकेको न्यूनतम आधारभूत पारिश्रमिकको ६० प्रतिशत मासिक रूपमा कोषले प्रदान गर्ने छ । तर यसका लागि १२ महिनामा ९ महिनाको योगदान रकम जम्मा गरेको हुनुपर्छ ।

यस्तै आश्रित परिवार सुरक्षा योजना अन्तर्गत योगदानकर्ताको ज्यान गएमा काजकिरिया खर्च २५ हजार रुपैयाँ, आश्रित पति वा पत्नीलाई आधारभूत पारिश्रमिकको ४० प्रतिशतका दरले आजीवन पेन्सन प्राप्त हुन्छ ।

यस्तै बालबच्चाको लागि २१ वर्षसम्म पढ्नका लागि रकम कोषले दिने छ । यदि छोराछोरी फरक क्षमताको भएमा उमेरको हक नलाग्ने कार्यविधिले व्यवस्था गरेको छ । यो योजना अन्तर्गतको सुविधा प्राप्त गर्नका लागि पनि १२ महिनामा ९ महिनाको योगदान रकम जम्मा गरेको हुन पर्नेछ ।

यस्तै वृद्ध अवस्था सुरक्षा योजना अन्तर्गत वैदेशिक रोजगारको समय अवधि सकिएपछि एकमुष्ट रकम वा पेन्सन सुविधाको व्यवस्था कार्यविधिले गरेको छ ।

यस्तै कोषमा वार्षिक रूपमा योगदान गर्ने रकम अग्रिम रूपमा एकमुष्ट जम्मा गरेमा १० प्रतिशतसम्म छुट पाइने व्यवस्था पनि कोषले गरेको छ । आफूले विदेशमा कमाएको रकमको खर्च कटाएर ७० प्रतिशतसम्म रकम औपचारिक माध्यममार्फत घरमा पठाएको प्रमाण पेस गरेमा २० प्रतिशत छुट रकम फिर्ता हुने व्यवस्था पनि कार्यविधिले गरेको छ ।

वैदेशिक रोजगारीमा रहेका श्रमिक नेपाल फर्किएपछि औपचारिक, अनौपचारिक र स्वरोजगारका योजनाहरूमा जान चाहेमा पनि जान सक्नेछन् भने ऋण सापटीको व्यवस्था हुन सक्ने प्रावधान पनि कार्यविधिमा राखिएको कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले जानकारी दिए ।