मलेसियामा नेपाली दूतावासले सुरु गर्‍यो श्रमिकका लागि घुम्ती सेवा

सुर्खेत । मलेसियास्थित नेपाली दूतावासले मलेसियाका विभिन्न सहरमा कार्यरत नेपाली श्रमिकको सुविधाका लागि घुम्ती सेवा सुरु गरेको छ । नेपाली श्रमिकहरू कार्यरत रहेको सहरमै दूतावासबाट प्रवाह गरिने सेवा प्रदान गर्न घुम्ती सेवा सञ्चालन गरिएको राजदूत डिल्लीराज पौडेलले बताएका छन् ।

बुधबार क्वालालम्पुरबाट करिब चार घण्टा मोटर बाटोको दूरीमा रहेको जोहरवारुमा राजदूत पौडेलले अस्थायी घुम्ती सेवाको उदघाटन गरेका हुन् गैरआवासीय नेपाली संघलगायत नेपाली संघ संस्थाहरुसँगको सहकार्यमा घुम्ती सेवा संचालन गरिएको हो ।

कार्यक्रममा २ सय ८० जना नेपाली श्रमिकहरुले राहदानी सम्बन्धी सेवा लिएका थिए । घुम्ती सेवामा राहदानी सम्बन्धी सेवाका साथै दूतावासबाट प्रवाह गरिने विभिन्न सेवाहरु प्रदान गरिएको नेपाली दूतावासले जनाएको छ ।

घुम्ती सेवा उदघाटनका क्रममा राजदूत पौडेलले नेपाली श्रमिकहरु कार्यरत कम्पनीहरुको स्थलगतनिरीक्षण, सेवा सुविधाबारे श्रमिकहरुसँग अन्तर्क्रिया तथा सम्बन्धित कम्पनी व्यवस्थापनसँग छलफल समेत गरेका थिए । सुरक्षा गार्ड तथा सरसफाइसम्बन्धी कम्पनीहरुमा कार्यरत नेपाली श्रमिकहरुको गुनासो आएपछि उनले सम्बन्धित कम्पनी व्यवस्थापनसँग छलफल गरेका हुन् ।