रुसबाट मुक्त गरेको खेरसन सहरमा युक्रेनले कर्फ्यु लगायो

रुसबाट मुक्त गरेको खेरसन सहरमा युक्रेनले कर्फ्यु लगाएको छ । रुसी सेनाले पूर्णरूपमा खेरसन सहर नछाडेको र नजिकैको दिनिप्रो नदीमा ठूलो क्याम्प बनाएर बसेकाले जोखिमलाई ध्यान दिँदै युक्रेनले कर्फ्यु लगाएको अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । कर्फ्युसँगै सहरभित्र र बाहिर यात्रा गर्न पनि प्रतिबन्ध लगाइएको छ । सुरक्षा स्थिति तनावपूर्ण बनेको खबरमा उल्लेख छ ।

खेरसनमै रहेका रुस समर्थित युक्रेनी लडाकु र रुसी सेनाले फेरि बलियो आक्रमण गर्ने त्रास फैलिएको छ । भागेका स्थानीयलाई उनीहरूको घरमा बम र विष्फोटक पदार्थको जाँच नभएसम्म नफर्किन चेतावनी दिइएको छ ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसीहरूले खेरसनका सबै महत्त्वपूर्ण पूर्वाधारहरू ध्वस्त पारेका र सहरलाई बिजुली, पानी र सञ्चारबाट वञ्चित गरेका बताउनुभएको छ । रुसी सेनाले सहर छाडेपछि युक्रेनी सेना विजय उत्सव मनाउँदै गएको शुक्रवार खेरसनमा प्रवेश गरेको थियो ।

गएको मार्च महिनामा युक्रेनमा आक्रमण थालेपछि रुसले नियन्त्रणमा लिएको पहिलो रणनीतिक सहर खेरसन नै हो । तर रुसले एकाएक खेरसनबाट सेना फिर्ता गर्ने निर्णय गर्नुलाई उसको चलाखपूर्ण र रणनीतिक कदमका रूपमा व्याख्या गरिएको छ ।