नवौँ राष्ट्रिय खेलकुद : यी हुन् बुधवार बिहान पदक पाउने टिम

पर्वत । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत एथलेटिक्सतर्फको आठ सय मिटर दौडमा विभागीय एपीएफकी फुलमति राना र विभागीय आर्मीका सोमबहादुर कुमालले स्वर्ण पदक जितेका छन्।

पोखरा रंगशालामा बुधवार भएको दौडमा महिलातर्फ फूलमतिले निर्धारित दुरी दुई मिनेट २७.३६ सेकेन्डमा पूरा गर्दै स्वर्ण जितेकी हुन्।

आर्मीकी सरस्वती भट्टराईले दुई मिनेट २७.५० सेकेन्डमा पूरा गर्दै रजत र आर्मीकै रेखा लिम्बुले दुई मिनेट ३०.४८ सेकेन्डमा पूरा गर्दै कास्य पदक जितेका छन्।

पुरुषतर्फ निर्धारित दुरी एक मिनेट ५४.०८ सेकेन्डमा पूरा गर्दै आर्मीका सोमले स्वर्ण जिते। विभागीय नेपाल पुलिस क्लबका तेजबहादुर कार्कीले रजत र आर्मीकै सुनिल सुनारले कास्य पदक जिते। निर्धारित दुरी कार्कीले एक मिनेट ५५.२१ सेकेन्ड र सुनारले एक मिनेट ५५.५२ सेकेन्ड पूरा गरेका थिए।

महिला बास्केटबलको कास्य गण्डकीलाई

तनहुँ जिल्लामा भएको महिला बास्केटबल प्रतियोगितामा गण्डकी प्रदेशले कास्य पदक हात पारेको छ।
बुधवार भएको खेलमा गण्डकीले सुदूरपश्चिम प्रदेशलाई ४६–२४ अङ्कको अन्तरमा कास्य पदक हात पारेको हो। प्रतियोगिताको पहिलो चरणमा गण्डकी प्रदेशले १६–९ को अन्तर कायम गरेको थियो। गण्डकी प्रदेशले दोस्रो, तेस्रो र चौथो चरणमा क्रमशः १०–४, १२–७ र ८–४ को अन्तर बनाउँदै जित हासिल गरेको हो।

गण्डकी प्रदेशलाई कास्य पदक दिलाउन गण्डकीकी सीमा गर्बुजाले १९ अङ्क जोडेकी थिइन्।
मंगलवार भएको सेमिफाइनल खेलमा गण्डकी प्रदेश त्रिभुवन आर्मीसँग पराजित भएको थियो भने सुदूरपश्चिम प्रदेश बागमती प्रदेशसँग पराजित भएको थियो। प्रतियोगिता अन्तर्गत यसअघि महिला पुरुष सिंगल्सतर्फका खेल सम्पन्न भइसकेका छन्।

 ज्याभ्लिन थ्रोमा आर्मीका रोहितलाई स्वर्ण

पुरुष ज्याभ्लिन थ्रोमा त्रिभुवन आर्मी क्लबका रोहित चौधरीले स्वर्ण पदक जितेको छन्।

उनले बुधवार बिहान पोखरा रंगशालामा ६४.२५ मिटर थ्रो गर्दै स्वर्ण पदक जितेका हुन्। एपीएफका रमेश पोख्रेल र मनोज डगौंराले क्रमशः रजत र कास्य पदक जिते। पोख्रेलले ५५.४३ र डगौंराले ५३.३९ मिटर थ्रो गरे।

४ सय मिटर हडल्स पुरुषमा आर्मीलाई स्वर्ण

४ सय मिटर हडल्समा त्रिभुवन आर्मीका रामप्रसाद थारुले स्वर्ण पदक जितेका छन्। थारुले ४ सय मिटर ५३.५३ सेकेन्डमा पूरा गर्दै स्वर्ण पदक जिते। आर्मीकै जीवन चौधरीले ५३.८९ सेकेन्डमा पूरा गर्दै रजत पदक जिते। एपीएफका तिरप्रताप महतोले ५३.९२ सेकेन्डमा पार गर्दै कास्य पदक जिते।

पुरुष टेनिस डवल्समा गण्डकीलाई स्वर्ण

टेनिस मेन्स डवल्समा गण्डकीले स्वर्ण पदक जितेको छ। निकै प्रतिस्पर्धात्मक खेलमा गण्डकीका प्रदीप खड्का र अनिल शाहीको जोडीले विभागीय टोली आर्मीका प्रनभ खनाल र अकि जुवेन रावतको जोडीलाई फाइनलमा पराजित गरेको हो।

सुपर टाईमा निर्धारण भएको नतिजामा पहिलो सेट गण्डकीको टिमले ७–५ ले जिते पनि दोस्रो सेट भने ४–६ ले गुमाउन पुग्यो। सुपर टाईमा गण्डकीले १०–८ ले आफ्नो पक्षमा पार्दै स्वर्ण पदक हात पारेको हो।  यस अघि टिम इभेन्टमा गण्डकीले एक स्वर्ण हात पारिसकेको छ।