विदेशीले भारतमा भएको शेयर धमाधम बेच्न थाले

विदेशी लगानीकर्ताले भारतीय बजारमा भएको शेयर धमाधम बेच्न थालेका छन् । लगातार बजार घट्न थालेपछि अक्टोबरको पहिलो दुई हप्तामै विदेशी लगानीकर्ताले ७५ अर्ब भारुभन्दा धेरैको शेयर बेचिसकेका बीबीसी हिन्दीले जनाएको छ।

विश्वका सबै अर्थतन्त्रमध्ये भारत अझै बलियो मानिने भए पनि विदेशी लगानीकर्ता भने चिन्तित छन् । भारतीय रिजर्भ बैंकका सबै प्रयासका बाबजुद पनि मूल्यवृद्धि नियन्त्रणमा आउन सकेको छैन।

ब्याजदरमा निरन्तर वृद्धि र धेरै अन्तर्राष्ट्रिय संस्थाले भारतको कुल गार्हस्थ उत्पादनको वृद्धि कम हुने प्रक्षेपण गरेका कारण विदेशी लगानीकर्ता आत्तिएका खबरमा उल्लेख छ । यस्तै, अमेरिकामा ब्याजदर बढेपछि लगानीकर्ताले भारतबाट पैसा निकालेर अमेरिकी बैंकमै बचत र लगानी गर्न थालेका छन् ।

सन् २०२२ पछि मात्रै विदेशी लगानीकर्ताले भारतीय शेयरबजारबाट एक लाख ७६ हजार करोड भारु बराबरको शेयर बेचेका छन् । अन्तर्राष्ट्रिय मुद्रा कोष आईएमएफले सन् २०२२/२३ को लागि भारतको आर्थिक वृद्धिको प्रक्षेपण ७ दशमलव ४ प्रतिशतबाट घटाएर ६ दशमलव ८ प्रतिशतमा झारेको छ । आईएमएफले दोस्रो पटक आफ्नो अनुमान कटौती गरेको हो।