नेपाललाई हराउँदै भारत च्याम्पियन

काठमाडौं । भारतले श्रीलंकामा आयोजना भएको साफ यू-१७ च्याम्पियनसिप फुटबलको उपाधि जितेको छ । कोलम्बोमा बुधबार भएको फाइनलमा १० खेलाडीमा समेटिएको नेपाललाई ४-० गोल अन्तरले हराउँदै भारत च्याम्पियन बनेको हो ।

भारतलाई जित दिलाउन बोबी सिंह, भान्लाल्पेका गुइटे, कोरोउ सिंह र अमनले एक एक गोल गरे। कोलम्बोको रेस कोर्स ग्राउण्डमा खेलको १८ औं मिनेटमा बोबीले गोल गर्दै भारतलाई सुरुआती अग्रता दिलाएका थिए ।

३० औं मिनेटमा कोरोउ सिंहले गोल गर्दै भारतलाई २-० को अग्रता दिलाए । खेलको ३९ औं मिनेटमा नेपाल १० खेलाडीमा समेटियो । भारतका ड्यानीलाई फउल गरेपछि नेपालका कप्तान प्रशान्त लक्समले रातो कार्ड पाए ।

May be an image of 2 people, people playing football, grass and text that says 'N SP AFFO C OUR NEXT'

खेलको ६३ औं मिनेटमा कप्तान गुइटेले गोल गर्दै भारतलाई ३-० को अग्रता दिलाए । त्यसपछि खेलको इन्जुरी समयमा अमनले गोल गर्दै भारतलाई ४-० को जित दिलाए ।

यस जितसँगै भारतले लगातार दोस्रो पटक उपाधि जितेको छ । यस्तै भारतले नेपालविरुद्ध समूह चरणमा व्यहोरेको हारको बदला लिएको छ ।

नेपालले समूह चरणमा भारतलाई ३-१ गोल अन्तरले हराएको थियो ।