काठमाडौं । अष्ट्रेलियामा यसै वर्ष आयोजना हुने आईसीसी पुरुष टी-ट्वान्टी विश्वकप क्रिकेटको ट्रफी सर्वोच्च शिखर सगरमाथाको आधार शिविरमा पुर्याइने भएको छ ।
नेपाल क्रिकेट संघ(क्यान) का कार्यबाहक सचिव प्रशान्त विक्रम मल्लले विश्व भ्रमणको दौरान यसै महिना नेपाल आइपुग्ने विश्वकप ट्रफी सगरमाथाको आधार शिविरमा पुर्याइने जानकारी दिए ।
‘विश्वकप ट्रफी यसै महिना नेपाल आइपुग्ने छ । आईसीसीको तालिका अनुसार विश्वकप ट्रफी भदौ १४ मा नेपालमा ल्याईने छ,’ मल्लले खेलपाटीसँग भने ‘उक्त दिन समर्थकहरुले ट्रफी हेर्न र ट्रफीसँग तस्बिर खिचाउन पाउने छन् ।’
क्रिकेटको विश्वकप ट्रफी नेपालमा दोस्रो पटक ल्याउन लागिएको हो । यस अघि २०१८ मा एकदिवसीय विश्वकपको ट्रफी नेपाल ल्याईएको थियो । टी-ट्वान्टी विश्वकपको ट्रफी भने पहिलो पटक नेपाल ल्याउन लागिएको हो । विश्वकपको ट्रफी दुई दिन नेपालमा रहने छ।
‘दुई दिनसम्म नेपालमा रहने ट्रफी सगरमाथा आधार शिविर सम्म पुर्याईने छ,’ मल्लले भने ‘ट्रफीलाई जनकपुर तथा भक्तपुर दरबार क्षेत्रमा समेत राखिने छ ।’ ट्रफीलाई भदौ १४ गते नै प्रदर्शनीको लागि सगरमाथाको आधार शिविर पुर्याइने छ ।
विश्वकपको १०० दिने ट्रफी टुर जारी रहेको छ । ट्रफी विश्वको १३ राष्ट्रको ३५ स्थानमा प्रदर्शनी गरिदैछ । विश्वकपको ट्रफी निशान कम्पनिले विश्वभर प्रदर्शन गरिरहेको हो ।
अष्ट्रेलियाको ७ शहरमा आयोजना हुने विश्वकप अक्टोबर १६ देखि नोभेम्बर १३ सम्म हुनेछ। विश्वकपमा १६ राष्ट्रले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन् ।
फरकबाटो ५ भाद्र २०७९, आईतवार १७:०२