कार्यस्थलमा सुरक्षित छैनन् महिला

सुर्खेत । सवारी चालकको काम न हो । कार्यालय समयमा मात्रै चलाएर खानै पुग्दैन । त्यसैले पवित्रा झिसमिसेमै अटो लिएर बजारतिर हिड्छिन् । दिनभरी अटो चलाएर बेलुकी साँझै घर पर्किने हो । भनेको समयमा घर पुग्छु भन्दा पनि पाईदैन । यात्रुहरु पाएको बेला छोडेर घर जान उनको मनले मान्दैन । उसो त कहिलेकाँही यात्रु नपाएरै रित्तै हात पर्किनुपरेका दिनहरु पनि पवित्राको सम्झनामा छन् ।

वीरेन्द्रनगर ५ चिसापानी सुर्खेतकी पवित्रा (नाम परिवर्तन) ले अटो चालकको रुपमा काम गर्न थालेको दुईवर्ष भयो । कुनै रोजगारी नभएपछि वीरेन्द्रनगर नगरपालिकाको महिला स्वरोजगार कार्यक्रम अन्तर्रगत अटो चालकको तालिम लिएर उनले अटो चलाउन थालेकी हुन् ।

दुईवर्षको अवधिमा उनले केही मिठा र केही नमिठा अनुभव बटुलेकी छन् । तरपनि छोराछोरीको सुन्दर भविष्यको लागि नमिठा पलसंग पनि उनले सहयात्रा गर्न छोडेकी छैनन् ।

‘बैनी भाडा कती हो ? भने मात्रै पनि त्यसको जवाफ सजिलै दिन्थेँ ’ उनले भनिन् “ अटो चलाइरहेको समयमा अटोमा बस्ने पुरुष यात्रुहरुले कोट्याउँदै सोध्छन् बैनी भाडा कती हो ? त्यो बेलामा अप्ठ्यारो लाग्छ ।” कतै यौन आशयले छोएको पो होकी भन्दै उनी झस्किन्छिन् ।

पवित्राको लागि त्यो त सामान्य नै भैसक्यो । काम गर्ने क्रममा यस्ता अप्ठ्यारा त सामाना गर्नैपर्छ भन्ने उनलाई लाग्छ । पुरुष चालक भएको भए जसले छोएपनि उसले कुनै प्रतिक्रिया दिँदैनथ्यो भन्दै उनले चित्त बुझाउँछिन् ।

तर भाडा माग्दा पनि अटोको भाडा होकी तपाईको भाडा हो ? भन्दै सोधेको प्रश्नले उनलाई एकदमै मनपोल्छ ।

‘गाडी चलाउँदा चलाउँदै यात्रुहरुले मोबाइलमा गलत भिडियो हेर्छन् ’ उनले थपिन् “ त्यतिमात्रै होइन भाडा माग्दा समेत हिंसा भोग्नुपर्छ । कती महंगो भाडा भन्दै तपाईलाई हेरेकोपनि भाडा तिर्नुपर्छ ? भन्दै सोधेको प्रश्नले मलाई हिंसा महशुष हुन्छ ।”

दैनिकजसो पवित्राले आँफुले काम गर्ने क्षेत्रमा यस्ता दुव्र्यवहार भोग्दा महिला भएर जन्मिएकोमा पश्चताप गर्छिन् ।

नौमुले गाउँपालिका ४ दैलेखकी कमला (नाम परिवर्तन) वीरेन्द्रनगर सुर्खेतमा बसेर ज्याला मजदुरी गर्छिन् । कमलाको कार्यस्थल पनि पवित्राको जस्तै असुरक्षित छ । तरपनि हिंसाको सामना गर्दै काम गर्नुको विकल्प उनीसंग छैन ।

चार छोराछोरीकी आमा कमलाको जिम्मेवारी छोराछोरीको मात्रै होइन श्रीमान् र सासुससुराको पनि हो । बिरामी श्रीमान् र सासुससुरा पाल्न र छोराछोरीको उज्जवल भविष्यका लागि उनले दैनिक कार्यस्थलको हिंसा सहेकी छन् ।

‘संगै काम गर्ने भाइहरुले पनि हेप्छन्’ उनले भनिन् “ झुक्एिर छोइयो भन्ने तर बारम्बार ठोक्कीन आउने र नराम्रो शब्द बोल्ने गर्छन् ।”

तल्लो तहमा काम गर्नेहरुका मात्र यस्ता पिडा छैनन् । बौद्धिक क्षेत्रमा काम गर्नेहरुले पनि कार्यस्थलमा सुरक्षित तरिकाले काम गर्न पाएका छैनन् ।

 

बौद्धिक क्षेत्रमा कामगर्ने पुरुषहरुले त आफ्नै सहकर्मीहरुलाई प्रत्यक्ष तथा सामाजिक सञ्जालबाट समेत हिंसा गर्नेगरेको पाइन्छ । बौद्धिक क्षेत्रका पुरुषबाट त तलव बढाइदिने, जागिर लगाइदिने वा यावत् वाहानामा यौनप्रस्ताव नै आउने गरेको सुर्खेतमा लामो समयदेखी पत्रकारिता गर्दै आएकी एकजना पत्रकार महिलाले भनिन् । उनले आँफु काम गर्ने कार्यालयका सञ्चालकले आँफुलाई यौन प्रस्ताव राखेपछि जागीर नै छोड्नेपरेको सुनाईन् ।

उसो त निजामती क्षेत्रपनि यसबाट अछुतो भने छैन । कार्यालय सहयोगी हुन् वा माथिल्लो तहमा काम गर्ने महिला कर्मचारी हुन् उनीहरुले पनि सहकर्मीबाट सुरक्षित महशुष गर्ने वातावरण पुर्णरुपमा छैन । अझै करारमा काम गर्नेहरु यस्ता दुव्र्यवहारबाट पीडित छन् ।

कार्यालयहरुमा विशेषगरी आँफुभन्दा माथिल्लो तहका पुरुष कर्मचारीहरुबाटै महिला कर्मचारीहरु पीडित भएका थुप्रै घटनाहरु छन् । पत्रकारिता, निजामती, सुरक्षानिकाय, निजि क्षेत्रका व्यवसाय, उद्योग, होस्टेल , स्वास्थ्यकर्मी लगाएत पछिल्लो समय शिक्षकहरुबाट विद्यार्थीहरु समेत यौन दुव्र्यवहारमा पर्ने गरेको पाइन्छ ।

कार्यस्थलमा हुने हिंसा न्युनिकरणका लागि कानुन नबनेका होइनन् तर यसको सहि ढंगले कार्यान्वयन हुन नसक्दा हिंसामा पर्ने महिलाहरुले न्याय पाउन सकेका छैनन् ।

कार्यस्थलमा महिलाहरुमात्रै होइन पुरुषहरु पनि दुव्र्यवहारमा पर्ने गरेका छन् । पुरुषहरु नगन्य मात्रामा हिंसामा पर्छन् तर अधिकाँश महिलाहरु भने यसबाट अछुतो छैनन् ।

कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार (निवारण ऐन २०७१) ले आफ्नो पद, शक्ति वा अधिकारको दुरुपयोग गरी कुनै किसिमको दबाव, प्रभाव वा प्रलोभनमा पारी वा हतोत्साहित गरी कार्यस्थलमा देहायको कार्य गरे वा गराएमा यौनजन्य दुव्र्यवहार गरेको मानिन्छ भनी प्रष्ट उल्लेख गरेको छ ।

– यौनजन्य आशयले शरीरको कुनै अङगमा छोएमा वा छुने प्रयास गरेमा,
– अश्लिल तथा यौनजन्य क्रियाकलापसंग सम्बन्धित शब्द, चित्र, पत्रपत्रिका,श्रव्य, दृश्य, अन्य सुचना प्रविधि, साधन वस्तु वा सामागी्र प्रयोग वा प्रदर्शन गरेमा
– लेखेर, बोलेर वा इशाराले अश्लील तथा यौनजन्य आशय प्रदर्शन वा प्रकट गरेमा
– यौनजन्य क्रियाकलापको लागि प्रस्ताव गरेमा
– यौनजन्य आशयले जिस्काएमा वा हैरानी दिएमा

कार्यस्थलमा यौनजन्य दुव्र्यवहार भएमा घटना भएको ९० दिन भित्र सम्बन्धित जिल्लाको प्रमुख जिल्ला अधिकारी समक्ष उजुरी दिनसकिने व्यवस्था ऐनले गरेको छ ।

कसैले कुनै कर्मचारी वा सेवाग्राहीलाई यौनजन्य दुव्र्यवहार गरेको ठहरेमा कसुरको प्रकृति हेरी ६ महिना सम्म कैद वा ५० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ र पीडितलाई मनासिव माफिकको क्षतिपुर्ति र उजुरी गर्दा वा उजुरीको प्रतिरक्षा गर्दा लागेको वास्तविक खर्च भराई दिनुपर्ने व्यवस्था ऐनले गरेको छ ।