महिला उपप्रमुखहरु भन्छन् : ‘प्रमुख भएर पालिका हाक्न सक्षम छौं’

तर पार्टीले सजिलै टिकट दिन्छ भन्ने कुरामा महिलाहरु विश्वस्त छैनन्

सुर्खेत । जुम्लाको तिला गाउँपालिकाकी उपाध्यक्ष विष्णु बढाको अगामी निर्वाचनमा गाउँपालिकाको अध्यक्षमा दावी छ । यो पाँच वर्षको अनुभवले पालिकाको नेतृत्व लिन अझै दृढ इच्छाशक्ति बढेको उनी बताउँछिन् । माओवादी केन्द्रबाट उपाध्यक्ष जितेकी उनले आफ्ना अनुभवले पालिकाको नेतृत्व लिएर जनअपेक्षा अनुसार काम गर्न सक्ने बताइन् ।

तर उनलाई महिलाहरुलाई पार्टीले सजिलै टिकट दिन्छ भन्ने कुरामा भने विश्वास छैन् । उनले भनिन्, ‘यो पाँच वर्षको अवधिमा निकै अनुभव भएको छ । मलाई प्रमुख भएर जनअपेक्षा अनुसार काम गर्न सक्ने आँट छ । तर जति कुरा गरे पनि महिला र दलितलाई पार्टीले सजिलै जिम्मेवारी दिन्छन् जस्तो लाग्दैन् ।’

संविधानले प्रमुख, उपप्रमुखमध्ये एक पदमा महिला अनिवार्य गरेकै आधारमा अब पनि महिला ‘उप’ नै हुनुपर्नेमा उनी सहमत छैनन् । ‘संविधानले एक जना महिला अनिवार्य गरे पछि सबै राजनीतिक दलहरुले प्रमुखमा पुरुष र उपपमुखमा महिलालाई उम्मेदवार बनाए । अहिले यस्तो अवस्था हुनुहुँदैन् । अब यसलाई तोड्दै हामी महिलाहरुले पनि प्रमुखमा दावी राखेर स्थानीय तहको प्रमुख भएर चलाउन सक्नुपर्छ । सबै पार्टीले कति स्थानीय तहको नेतृत्व महिलालाई दिने भनेर ठोस निर्णय गर्नुपर्छ ।’ उनले भनिन् ।

संविधानमा स्थानीय तहको प्रमुख र उपप्रमुखमध्ये एक महिला उम्मेदवार हुनुपर्ने व्यवस्था छ । २०७४ स्थानीय तह निर्वाचनमा दलहरूले अधिकांश पालिकाको प्रमुखमा पुरुष र उपप्रमुखमा महिलालाई उम्मेदवार बनाएका थिए । कर्णाली प्रदेशमा ७९ वटा स्थानीय तह मध्य दुई वटा स्थानीय तहमा मात्रै महिला प्रमुख छन् । एक नगरपालिका र एक गाउँपालिकमा प्रमुख महिला छन् । अन्य पालिकामा महिलाहरु उपप्रमुख छन् । उपप्रमुख तथा उपाध्यक्षहरु अहिले पालिकाको नेतृत्व लिन आकाँक्षी रहेको बताउँछन् । पाँच वर्षको अवधिमा विकास निर्माण, नीति, नियम, ऐन बनाउने लगायतका काममा सहभागि भएर पालिका चलाउन सक्ने अनुभव उनीहरुले पाएका छन् ।

वीरेन्द्रनगर नगरपालिकाकी उपप्रमुख मोहनमाया ढकाल पनि नगरको प्रमुखमा स्वभाविक दाबेदार रहने बताउँछिन् । ढकाललाई पनि प्रमुख गरेर पालिकाको नेतृत्व लिएर हाक्न सक्ने विश्वास छ । उनले भनिन्, ‘यो पाँच वर्षको अवधिको अनुभवले धेरै कुरा सिकाएको छ । महिलाहरुले कुलशतापूर्वक कार्य सम्पादन गर्न सक्छन् भन्ने सन्देश पनि दिएको छ । उपप्रमुख भएर काम गरिसके पछि प्रमुखमा हाम्रो दावी स्वभाविक हो । मैले यो कार्यकालमा कार्यबाहक प्रमुख भएर पनि जिम्मेवारी पुरा गरेको छु । प्रमुख भएर पालिका हाक्ने विश्वास छ ।’

पाँच वर्ष स्थानीय तहलाई नजिकबाट चिन्ने, बझ्ने र जनताका लागि काम गर्ने अवसर मिलेको उपप्रमुखहरु बताउँछन् । गुर्भाकोट नगरपालिकाकी उपप्रमुख मैना विकले पालिका प्रमुख बन्न सक्षम रहेको सुनाइन् । उनले सोही अनुसार संघर्ष गरेको बताउँछिन् । यो पाँच वर्षको अवधिमा नागरिकले विकासको अनुभुति गर्ने गरी काम गरेको उनको दावी छ । पहिलो वर्ष भएकाले स्थानीय तहको जग बसाल्ने काम भएको उनको भनाई छ ।

जनताको बिचमा रहेर काम गर्दै गर्दा कुशतापूर्वक पालिकाको प्रमुख भएर काम गर्न सकिन्छ भन्ने म दृढ विश्वास रहेको उनले सुनाइनन् । उनले भनिन्, ‘ पहिलो निर्वाचनमा सबै दलहरुले प्रमुखमा पुरुष र उपप्रमुखमा महिलालाई उम्मेद्वार गराए । यस पटक राजनीतिक दलहरुले नेतृत्वमा महिला सहभागिताका लागि समावेशी मानसिकता बनाएर लाग्नुपर्छ । म आवद्ध पार्टी काँग्रेसले पनि केही सोच्ला । मैलै अहिले आगामी निर्वाचनमा प्रमुखको जिम्मेवारी प्राप्त गरेर काम गर्न सकिन्छ भनेर संघर्ष गरिरहेको छु ।’