श्रीमान्नको अनुमतीबिना परिवार नियोजनका साधन प्रयोग गर्नै पाउँदैनन् महिला

सुर्खेत । धर्मशिला पुनले १३ वर्षको उमेरमा विवाह गरेकी हुन् । हाल उनी ३५ वर्षकी भइन् उनले पाँच सन्तानलाई जन्म दिइसकेकी छन् ।
जन्मनदिएका सन्तान दशौं पटक खेर गए । दशौंपटक उनले गर्भधारण गरेर असुरक्षित तरिकाले गर्भ खेर फालेकी छन् । कारण परिवार नियोजनको अस्थाई साधन प्रयोग गर्न अनुमती नपाउनु नै हो ।

जाजरकोटको नलगाड नगरपालिका ४ प्युली घर भएकी उनी एकातिर निरन्तर असुरक्षित गर्भपतन गराउनुपर्ने बाध्यतामा छन् भने अर्कोतिर सोही कारणले आउने समस्याबाट पीडित छन् ।

धर्मशिलाले अक्षर चिन्न पाइनन् । त्यसैले पनि यो समस्याबाट कसरी मुक्ति पाउने भन्ने कुरामा उनी अन्यौलमा छिन् ।

उनका श्रीमान् डोको चोयाँको काम गर्छन् । उनलाई भने खेतबारीमा भ्याइनभ्याई हुन्छ । दैनिक मदिराले मातीने उनका श्रीमान् ले नत आँफुले अस्थाई साधनको प्रयोग गर्छन् नत धर्मशिलालाई नै गर्न दिन्छन् ।

जसका कारण गर्भ रहन गई गर्भपतन गराउनुपर्ने बाध्यता उनलाई छ । जसको परिणाम उनी महिनैभरी रक्तश्रावले मुछिन्छिन् ।

‘आँफुले पनि अस्थाई साधनको प्रयोग गर्नुहुन्न’ धर्मशिलालले भनिन् “मलाई पनि अस्थाई साधनको प्रयोग गरिस् भने अर्कैसंग यौन सम्बन्ध राख्छेस् की भनेर प्रयोग गर्न दिनुहुन्न ।”

उनले कयौंपटक श्रीमान् बाट लुकेर गर्भ रोक्नलाई पिल्स खाइन् तर उनलाई पिल्सले पनि रक्तश्राव गरायो । कयौंपटक उनले श्रीमानलाई स्थायी बन्ध्याकरण गर्नका लागि आग्रह पनि गरिन् तर उनका श्रीमान् ले बन्ध्याकरण गर्न मानेका छैनन् ।

पटक–पटक गर्भपतन गराउँदा उनी निकै कमजोर भइसकेकी छन् । संधै यसरी नै गर्भपतन गराउने हो भने बाँचिएला जस्तो उनलाई लाग्दैन । ‘अब जहिले मरिन्छ मरिन्छ’ उनले गहभरी आँसु झार्दै थपिन् “ श्रीमान् लाई स्थायी बन्ध्याकरण गराइदिन पाए मेरो जिवनले पालुवा फेर्ने थियो ।”

संधैको श्रीमान्को कुटाई, परिवारको जिम्मेवारी र गर्भपतन गरिरहनुपर्ने बाध्यताका कारण उनको जिवन नर्क नै बनेको छ । धर्मशिला यो समस्याबाट मुक्ति पाउन चाहान्छिन् तर कसरी ? उनको मनमा बारम्बार यस्ता प्रश्नहरु उब्जिन्छन् ।

उनी मात्रै होइन वीरेन्द्रनगर नगरपालिका वडा नं २ की कमला बुढाको पनि हालत उस्तै छ । चार सन्तानकी आमा उनले पनि परिवार नियोजनका अस्थायी साधनको प्रयोग श्रीमान्को अनुमतीबिना गर्न पाउँदिनन् ।

उनका श्रीमान्ले समेत नत आँफुले अस्थायी साधनको प्रयोग गर्छन् नत कमलालाई नै गर्न दिन्छन् जसका कारण नचाहेको गर्भ रहँदा गर्भपतन गर्नुपर्ने बाध्यता भएको उनले बताईन् ।

२९ वर्षीय कमलाका श्रीमान् भारत जाने भएको कारण आँफुमाथी बढि संका गर्ने गरेको उनले सुनाईन् । अस्थायी साधनको प्रयोग गरेपछि आँफु नभएको समयमा अरुसंग यौन सम्बन्ध राख्छेस् भनेर प्राय कमलाका श्रीमानले उनलाई तनाव दिन्छन् ।

‘श्रीमान् घर आएको समयमा अस्थायी साधन प्रयोग गर्न खोज्दा संका गर्नुहुन्छ’ उनले भनिन्“म नभएको समयमा पनि अस्थायी साधन प्रयोग गरेर अरुसंग यौनसम्बन्ध राख्छेस् की भन्नुहुन्छ । त्यसैले बरु गर्भ रहेरहन्छ औषधी खाएर फाल्ने गरेकी छु ।”

लुकाएर औषधी खाँदा पनि थाहापाएपछि समस्या हुने गरेको उनले सुनाईन् । २९ वर्षीय कमलाले पाँचपटक सम्म गर्भपतन गरेको बताईन् ।

कमला र धर्मशिला जस्तै कर्णाली प्रदेशका धेरै महिलाहरु श्रीमान््को अनुमतीबिना परिवार नियोजनको अस्थायी साधन प्रयोग गर्न पाउँदैनन् । जसका कारण नचाहेको गर्भ रहन गई गर्भपतन गर्नुपर्ने बाध्यतामा महिलाहरु छन् । उनीहरुले तत्कालको समस्याबाट मुक्ती पाउनका लागि गर्भपतन पनि असुरक्षित तरिकाले गर्छन् ।

पटक–पटक गर्भपतन गराउँदा रक्तश्राप भइरहने, पाठेघर खस्ने समस्या देखिने र ज्यानै समेत गुमाउनुपर्ने अवस्थामा कर्णालीका महिलाहरु परेका हुन् ।

कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार प्रदेशभर आर्थिक वर्ष २०७६÷०७७ मा परिवार नियोजनको अस्थाई साधन प्रयोग गर्नेको संख्या ७३ हजार ९ सय ५७ मात्र रहेको छ ।

जसमा कन्डम प्रयोगकर्ता १४ हजार ९७, डिपो ३४ हजार ८ सय १४, इम्पलान्ट प्रयोगकर्ता ७ हजार ४६, आई.यु.सि.डि ६ सय २५ र पिल्स प्रयोगकर्ता १६ हजार ४ सय ७५ रहेका हुन् ।

त्यस्तै आर्थिक वर्ष २०७७÷०७८ मा समेत ७३ हजार ७ सय ४५ ले परिवार नियोजनको अस्थाई साधन प्रयोग गरेकोे निर्देशनालयको तथ्याक रहेको छ । कन्डम प्रयोगकर्ता १३ हजार १ सय ३२, डिपो प्रयोगकर्ता ३८ हजार ३ सय ३४, इम्पलान्ट प्रयोगकर्ता ७ हजार ९ सय ७६, आई.यु.सि.डि प्रयोगकर्ता ४ सय ७६ र पिल्स प्रयोगकर्ता १३ हजार ८ सय २७ रहेको निर्देशनालयले जानकारी दिएको हो ।

कर्णाली प्रदेश अस्पतालका प्रसुती तथा स्त्री रोग विशेषज्ञ डा. धर्मराज रेग्मीका अनुसार कर्णाली प्रदेश अस्पतालमा समेत दैनिक एकसय पचास भन्दा बढि महिलाहरु विभिन्न समस्या लिएर आउने गरेका छन् ।

जसमा ३० प्रतिशत महिलाहरु पाठेघर खस्ने, रगत बग्ने र सेतोपानी बग्ने समस्यालिएर आउने गरेको उनले सुनाए । अस्थाई साधनको प्रयोग गरेको बच्चा बसेछ भन्दै अस्पतालमा गर्भपतन गराउन आउनेको संख्या समेत ३० प्रतिशत भन्दा बढि भएको उनले जानकारी दिए ।

उनले गर्भ, गर्भपतन र अन्य महिलासंग सम्बन्धित समस्या समाधानका लागि तल्लो स्तरबाट दम्पत्तिलाई नै सचेत गराउनुपर्ने बताए । उनका अनुसार कर्णाली प्रदेश अस्पतालमा दैलेख, सल्यान, जाजरकोट, कालिकोट लगाएतका जिल्लाहरुबाट महिलाहरु सेवा लिन आउने गरेका हुन् ।