पानीपुरी र चट्पटे बेचेर सहज भएको सीताको जीवन


सुर्खेत\लक्ष्मी हमाल ।  वीरेन्द्रनगर ५ मा रहेको कालिका मन्दिर नजिकै उत्तरपट्टी सडक छेउमै सानो घर छ । घरको अगाडीको खाली भागमा समान राख्न बनाइएको बाँसको चाङमा पानीपुरी र चट्पटे बनाउने समाग्री राखेर सीता ३४ वर्षीय सीता ढकाल काममा व्यस्त हुन्छिन् । पानीपुरी र चट्पटे बनाउन उनलाई भ्याईनभ्याई हुन्छ ।

छ वर्ष अघि नेपालगञ्ज जान्छु भनेर घरबाट हिडेका श्रीमान फर्किएनन् । ढकालका श्रीमान घर नफर्किए पछि दुई छोराहरुको लालनपालनको जिम्मेवारी एक्लै उनको काँधमा आइप¥यो । उनले जसोतसो छोराहरु हुकाईन् । घरको आर्थिक अवस्था कमजोर भए पछि हाल उनका छोराहरु पनि कमाईका लागि भारत छन् ।

उनलाई आफु मात्र पालिन पनि धौ धौ हुन थाल्यो । अरु केही उपाय नभए पछि घर अगाडी सानो पसल थापेर पानीपुरी र चट्पटे बेच्न सुरु गरिन् । अहिले उनको दैनिकी फेरिएको छ । दिनमा १२ बजेदेखि साँझसम्म उनलाई पानीपुरी र चट्पटे बेच्न भ्याईनभ्याई हुन्छ । घरखर्च चलाउन उनलाई अहिले अरुको हात थाप्नु परेको छैन् । ‘श्रीमान सम्पर्क मै नभए पछि समस्या भयो । घर खर्च चलाउन समस्या भयो । सधै कसले सहयोग गर्छ र ? ऋणले चालउन समस्या भयो । छोराहरु भारत गए । अहिले पानीपुरी र चट्पटे बेचेर गुजारा चलाएको छु ।’

उनले तीन वर्षदेखि पानीपुरी र चट्पटे बनाएर विक्रि गर्दै आएकी छन् । उनको स्वास्थ्य अवस्था त्यति राम्रो छैन् ।   बाहिर पानीपुरी र चट्पटे व्यवसाय गर्नु अघि उनले एक स्थानीय अस्पतालमा सरसफाईको काम गर्दिन् । तर स्वास्थ्यले साथ नदिए पछि जागिर छुट्यो । त्यस पछि उनको जीवनमा आर्थिक अवस्थाले झन समस्या भयो । आर्थिक अवस्था कमजोर हुँदै गए पछि घर अगाडी सानो पसल थापेर पानीपुरी र चट्पटे बेच्न थालेको उनले सुनाइन् । पानीपुरी र चट्पटे बनाएर बिक्रि गर्न थाले पछि अहिले उनलाई केही सहज भएको छ । घर खर्च र औषधि उपचार गर्न अरुको हात थाप्न नपरेको उनले बताइन् । उनले पानीपुरी र चट्पटे बेचेर दैनिक सातदेखि १५ सयसम्म कमाउँछिन् ।उनले पानी र चट्पटे व्यवसाय गरेर भएको आम्दानीले घर खर्च चलाउनुका साथै समूह तथा संस्थाहरुमा बचत गर्ने गरेकी छन् ।

हराएका श्रीमान अहिलेसम्म नफर्किएको कुराले उनलाई पीडा दिन्छन् । अहिलेसम्म उनले श्रीमानको अवस्थाको बारेमा थाहा पाउन सकेकी छैनन् । उनले भनिन्, ‘दिन भरी पानीपुरी र चट्पटे बेच्दा कमाई पनि हुन्छ । घरखर्च चलेको छ । दिनभरी काममै व्यस्त हुँदा मनमा रहेका पिर व्यथा पनि भुल्छु ।’

उनले गाउँका अन्य दिदी बहिनिहरुलाई पनि सानो भए पनि व्यवसाय वा काम गर्न सुझाव दिने गरेकी छन् । आफ्नो व्यवसाय गरेर आफै कमाउनु ठूलो कुरा भएको उनको बुझाई छ । ‘महिलाहरु आफै आर्थिक रुपमा बलियो हुनुपर्ने रहेछ । सबै दिदीबहिनी सानोतिनो व्यवसाय गरेर भए पनि गर्न सुझाव दिन्छु ।’