वीरेन्द्रनगर नगरपालिका वडा नं १ लाई खेलकुदमार्फत चिनाउने वडा अध्यक्ष दिनेश खत्रीको लक्ष्य छ । तर यो वर्षका लागि बजेट निर्माणको काम सकिसकेको बेला वडामा कस्तो बजेट आयो ? नागरिकका समस्यासंग वडा कार्यालय कति नजिक छ ? लगाएतका विषयसंग सम्बन्धित रहेर फरकबाटोकर्मी ललिता बिश्वकर्मा ओडले वडा अध्यक्ष दिनेश खत्रीसंग गरेको कुराकानी :
आजभोलि के काममा व्यस्त हुनुहुन्छ ?
वडा कार्यालयमा गरिने दैनिक काममा नै व्यस्त छौ । हामी भन्दा अगाडिका जनप्रतिनिधिहरुले सुकुम्बासी समस्या समाधानका लागि पुर्जा वितरण गर्ने कार्य अगाडि बढाएको भएपनि केही काम बाँकी छ र विधि प्रक्रिया नपुगेको फाइलहरुलाई अपडेट गर्ने काम हामीले गरिरहेका छौ । केही नपुगेको प्रमाणहरु , अपुर्ण कागजपत्रहरु छन् तीनै कागजपत्र मिलाउने काम भइरहेको छ । भुमि आयोगसँग अनुसुची २ को फारम भर्ने भनेर समन्वयको काममा अलि बढी व्यस्त छौ ।
भखरै नेतृत्वमा आउनु भएको छ, वडा बासीसँग खुसी बाड्न जानुभयो त ?
चुनाव जितिसकेपछि हामी प्रत्येक टोल टोलमा वडाबासीसँग खुसी बाड्न गएका छौ । वडा भित्र रहेका संघसस्थासँग भेटघाट गर्ने काम पनि गरेका छौ । हामीहरु संधै वडाका नागरिकसंग खुसी बाँड्न चाहान्छौं र त्यो खुसी नागरिकहरुलाई हाम्रो सेवाले दिन्छ ।
तपाईलाई नागरिकले विश्वास गरेर जिताएका छन् । स्थानीय नागरिकहरुको समस्यालाई बुझ्नु भएको छ त ?
वडा बासीका समस्या मैले नेतृत्वमा आउनु पुर्व नै बुझिसकेको थिए । किनकी म त्यहीको स्थानीय सामाजिक अभियान्ता पनि हुँ । जब नेतृत्वमा आंए अझै धेरै समस्या बुझ्ने मौका पाएको छु । समस्या असिमित छन् । एउटा समस्या आउने वित्तिकै अर्को समस्या आइहाल्ने समस्या माथी समस्या बलझिने गर्दछन् । यीनै समस्याको समाधान गर्ने गरेका छौ ।
वडाका मुख्य समस्या के छन् ?
वीरेन्द्रनगर नगरपालिका वडा नं. १ कर्णाली प्रदेशको राजधानीको वडा भएता पनि यो वडा भनेको सबै वडा भन्दा पछााडी परेको वडा हो । यस वडामा सबै भन्दा ठुलो समस्या भनेको खानेपानी, बाटोघाटो, शिक्षा, स्वास्थ्य, गरिबी, बेरोजगार, लागु औषध दुव्र्यसनी, कृषि समस्या, बालबिवााह, घरेलुहिंसा, सुकुम्बासी समस्या लगायतका भौतिक पूर्वाधार सम्बन्धी धेरै समस्या रहेका छन् ।
समस्या समाधानका लागि के योजना बनाउनु भएको छ ?
नगरपालिकाले छुट्याएको एक करोड ६० लाख बजेट अनुसार रहेर काम गर्ने योजनामा छौ । नगरपालिकाले नै यो शिर्षकमा यसरी काम गर्ने भनेर शीर्षक अनुसार बजेट छुट्याएको छ । शीर्षकमा छुट्याएको रकम भन्दा बढी खर्च गर्ने अधिकार वडामा हुँदैन । त्यसैले हामीले वडामा खानेपानी समस्या समाधानको लागि पहल गरिरहेका छौं । बाटोघाटो समस्या समाधानको लागि पुर्वाधार तर्फ ६० देखि ७० लाख छुट्याइएको छ । यस वडामा धेरै जसो कच्चि बाटोहरु छन् । कुनै ठाउँमा नाला बनाउनु पर्नेछ भने कतै साँघुरो बाटो छ । त्यसलाई पुर्ण गर्नका लागि यति बजेटले पुग्दैन । जतिसक्दो छिटो बाटोलाई पिज गर्ने, नाला नभएका बाटोमा नाला बनाउने तर्फ शहरी विकास मन्त्रालयसँग समन्वय गरेर बाटोघाटो छिटो सुधार गर्नेछौ ।
वडामा चारवटा सामुदायिक विद्यालयहरु छन् । यहाँको अवस्था एकदमै दयनिय छ । यहाँ गरिबी पनि उत्तिकै भएको हुँदा सामुदायिक विद्याालयमा अध्ययन गर्न आउने बालबालिका बिहान बेलुका हात मुख जोड्न धौ धौ पर्ने अवस्था छ । शिक्षा नीति पनि फितलो छ । शिक्षा क्षेत्रलाई अझ धेरै फोकस गर्नु पर्ने देखिएको छ ।
विद्यालय स्तरमा विभिन्न किसिमका जनचेतनामुलक कार्यक्रमसंगै गुणस्तरीय शिक्षा कायम गर्ने योजना छ । सुकुम्बासी समस्या समाधानको लागि बाँकी रहेको कामलाई तुरुन्त पुरा गर्नेछौ ।
यस्तै गरिबी समस्या समाधानको लागि लक्षित वर्गका विभिन्न कार्यक्रम ल्याएका छौ । उनीहरुको आर्थिक स्तर सुधारका लागि सिपमुलक तालिम दिने योजानामा छौ । लागु पदार्थ दुव्र्यसनी कम गर्नका लागि युवा, बालबालिकालाई खेलकुदमा लगाउने छौ ।
वडामा रहेको बजेटले भाडामा जग्गा लगेर खेल मैदान गराउने र उनीहरुलाई जतिसक्दो व्यस्त बनाउने र १ नम्बर वडालाई खेलकुद मार्फत चिनाउने लक्ष्य रहेको छ ।
बेरोजगारी समस्या समाधानको लागि छोटो समयमा सिकेको सिपले छिट्टै आय हुने खालको तालिम दिने र स्वरोजगार बनाउने योजना छ ।
स्वास्थ्य क्षेत्रमा यस वडामा आधारभुत स्वास्थ्य चौकी छ । तर यहाँ कर्मचारी छैनन् । अहिले पनि भनेको जस्तो औषधी पाउन मुस्किल छ । विभिन्न संघसंस्थासँग समन्वय गरेर स्वास्थ्यमा छुटाएको बजेटले प्रत्येक महिनामा बिशेषज्ञ डाक्टरबाट गर्भवती महिलाको स्वास्थ्य अवस्थाको निशुल्क स्वास्थ्य शिविर गर्ने र दिशा, पिसाब र रगत जाँच गर्ने ल्याव राख्ने योजनामा छौ ।
अबको छ महिनामा के काम गर्नु हुन्छ ?
भर्खरै मात्र रेडक्रस सोसाइटीसंग समन्वय गरेर आँखा शिविर सम्पन्न गरेका छौं । नगरबाट बनेका कार्यक्रम, योजना तर्जुमा अनुसार काम गर्नेछौं । पहिलो चरणमा उपभोक्ता समिति गठन गरेर, विकास निर्माणका काम सुरु गर्ने र तिनीहरूको अनुगमन गर्ने, वडामा जुन समस्या आयो त्यहीलाई समाधान गर्दै जानेछौ । विभिन्न खालका तालिम गर्ने जनचेतना अभिवृद्धीका कार्यक्रम गर्नेछौं ।
बजेटमा के कुरालाई बढी प्राथमिकता दिनु भएको छ ?
बजेटमा पहिलो प्राथमिकता भनेको शिक्षा हो । किनकी देशको मुहार परिवर्तन गर्ने बाटो भनेको नै शिक्षा हो । यसबाट विभिन्न किसिमका समस्याहरु समाधान हुन सक्छन् । जस्तै बालविवाह, घरेलु हिंसा, लागूपदार्थ दुव्र्यसनी यस्ता धेरै समस्याहरू शिक्षाकै माध्यमबाट समाधान हुन सक्छन् । त्यस्तै बाटोघाटो, खानेपानी, स्वास्थ्य, सामाजिक क्षेत्रका कामहरू, लक्षित वर्ग समुदायको आर्थिक विकासको लागि विभिन्न सिपमूलक तालिम लाई बजेटमा प्राथमिकतामा राखेका छौं । ।
तपाईंका आगामी योजनाहरू के छन् ?
मापदण्ड अनुसार भएका सबै बाटाहरु पिज गर्न पक्कै सकिँदैन । तर जति सक्दो धेरै बाटोघाटोको पिज गराउने, शिक्षाको क्षेत्रमा चार वटा सामुदायिक विद्यालय मध्ये एउटा मावि छ, त्यसमा प्रविधि युक्त प्राविधिक शिक्षा ल्याउन पाएको भए त्यहाँका विद्यार्थीलाई सहुलियत दरमा शिक्षा दिन पाइथ्यो । स्वास्थ्यको क्षेत्रमा सशुल्क वडा बासीलाई उपचारको लागि ल्यापको व्यवस्था गर्ने, रोजगारीका लागि रोजगारी मुलक कार्यक्रम तालिमहरु दिने, लक्षित वर्गका लागि विभिन्न किसिमका जनचेतना अभिबृद्धीका कार्यक्रम लाई बजेटमा प्राथमिकतामा राखेका छौं । सोही अनुसार उनीहरूको आर्थिक उन्नतिमा फोकस गर्ने, युवाहरुलाई स्वरोजगार बनाउने योजना छ । विकल्पका रुपमा खानेपानीको अर्को स्रोत बनाउने योजना छ ।
अन्त्यमा के भन्न चाहनुहुन्छ ?
सिमित स्रोत साधनबाट असिमित आवश्यकता पूरा गर्न जो कोहीलाई गाह्रो विषय हो । त्यसलाई सामना गरेर वडाको विकास गर्नका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्न आवश्यक छ । वडाको विकासका लागि सम्पूर्ण वडा बासी लगायतका जिम्मेवारीमा रहेका संघ संस्थामा पाँच वर्षसम्म साथ सपोर्ट दिनुहुन अनुरोध गर्दछु । नेतृत्वमा आएको मान्छेलाई यो एक्लो योद्धा हो भन्ने नसोची वडाको विकासको लागि साथ र सहयोगको अपेक्षा गर्दछु । मलाई हजुरहरु सबैको साथ र सहयोगको खाँचो सदैव रहनेछ । निस्वार्थ रुपमा जनताले आफ्नो दायित्व, अधिकारलाई नभुलि निरन्तर साथ सपोर्ट गरिदिनहुन अनुरोध गर्दछु । नागरिकले गरेको विश्वासलाई पाँच वर्षसम्म कायम गर्नेछु । मैले गतल गरेको क्रममा झकझकाउनु होला भन्न चाहन्छु ।
ललिता विश्वकर्मा ओड २७ भाद्र २०७९, सोमबार १९:४५